धरानको बि.पी प्रतिष्ठानमा २०६ औं अन्तराष्ट्रिय नर्स दिवस
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख ३० गते
धराने मिडिया : धरान स्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा २०६ औं अन्तराष्ट्रिय नर्स दिवस मनाइएको छ।
मङ्गलवार आयोजित २०६ औँ विश्व नर्स दिवस कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघा रहेका थिए। बेघाले प्रतिष्ठान र उपमहानगरपालिका बिचको सम्बन्ध ‘नङ र मासु’ जस्तै हुनुपर्ने बताउँदै प्रतिष्ठानको पूर्वाधार विकास र सुधारका लागि नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका निमित्त प्रमुख डा. इन्द्र लिम्बुले नर्स दिवसको अवसरमा बधाई तथा सम्मान व्यक्त गरेका थिए। त्यस्तै कार्यक्रममा २० वर्षदेखि निरन्तर कार्यरत ९ जना नर्सहरूलाई सम्मान प्रधान गरिएको थियो।
कार्यक्रम नर्सिङ संघका अध्यक्ष प्रतिष्ठानकी मेट्रोन कला थापाको सभापतित्वमा भएको थियो।


अन्तर्राष्ट्रिय नर्स दिवस
हरेक वर्ष मे १२ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइन्छ। सन् २०२६ मा यो दिवस २०६ औं संस्करणका रूपमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ। आधुनिक नर्सिङ सेवाकी संस्थापक Florence Nightingale को जन्मदिनको अवसर पारेर यो दिवस मनाउने गरिन्छ।
यस दिवसले स्वास्थ्य क्षेत्रमा नर्सहरूले पुर्याउँदै आएको योगदानको सम्मान गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा उनीहरूको भूमिकालाई उजागर गर्ने उद्देश्य राख्छ। अस्पताल, स्वास्थ्य संस्था तथा शैक्षिक प्रतिष्ठानहरूमा सचेतनामूलक कार्यक्रम, सम्मान समारोह, रक्तदान, र स्वास्थ्य शिविर जस्ता गतिविधि आयोजना गरिन्छन्।





















