धरानमा सञ्चारकर्मीका लागि एक दिने ‘प्रभावकारी फोटोग्राफी तालिम’ सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ ५ गते।
धराने मिडिया : लिम्बु पत्रकार संघ, जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा धरानमा एक दिने ‘प्रभावकारी फोटोग्राफी तालिम’ सम्पन्न भएको छ। धरान-१५ स्थित चुम्लुङ भवनमा आइतबार आयोजित उक्त तालिममा सुनसरीका विभिन्न सञ्चार माध्यममा आबद्ध २७ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
तालिममा सह-प्राध्यापक कुल प्रसाद लिम्बुले प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक लिम्बुले मोबाइल र क्यामराबाट खिचिने फोटोहरूबीचको प्राविधिक फरक, व्यावसायिक फोटो खिच्ने सही तरिका, र समाचारमा फोटोको महत्त्वबारे प्रयोगात्मक जानकारी गराउनुभएको थियो।
तथ्यपरक समाचार र सही सूचनामा जोड कार्यक्रमका प्रमुख अतिथि मोहनकुमार हुक्पा चोङ्बाङ्ले तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रविधिको वर्तमान युगमा फोटोग्राफीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। "आजको संसार मोबाइल र क्यामराको संसार हो। त्यसैले सबै सञ्चारकर्मीले आफ्नो उपकरणको सही प्रयोग गरी गुणस्तरीय फोटोसहित समाचार सम्प्रेषण गरेर समाजलाई सुसूचित गराउनुपर्छ।" — मोहनकुमार हुक्पा चोङ्बाङ्, प्रमुख अतिथि


त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि धरान उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष नरेश कुमार इङ्वारमले सञ्चार क्षेत्रको निष्पक्षताबारे चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, "आजको युग नै मिडियाको युग हो। त्यसैले सञ्चार माध्यमहरूले 'तेरो-मेरो' भन्ने आग्रह-पूर्वाग्रह नराखी समाजमा सधैँ तथ्यपरक र सत्य समाचार मात्र प्रस्तुत गर्नुपर्छ।"
अनुभव आदानप्रदान र समापन तालिममा सहभागी प्रशिक्षार्थीहरूका तर्फबाट मोहन पिठा मगर र मनिता चाम्लिङले आफ्नो सिकाइ र अनुभव साटासाट गर्नुभएको थियो। उहाँहरूले तालिमले कार्यक्षेत्रमा थप व्यावसायिकता ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
लिम्बु पत्रकार संघ, सुनसरीका जिल्ला अध्यक्ष स्वर्णिमहाङ फोम्बोको सभापतित्वमा उक्त कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको थियो।




















