जेठ ९ गते धरानका सुकुम्वासी सडकमा उत्रिने
समाचारदाता : देवेन्द्र कार्की
२०८३ जेठ ६ गते।
धराने मिडिया : अव्यवस्थित बसोबासी, भूमिहीन तथा सुकुम्बासीहरूको हकअधिकार सुनिश्चित गर्न माग गर्दै धरानमा आगामी जेठ ९ गते शनिबार शान्तिपूर्ण प्रदर्शन हुने भएको छ ।
धरानका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समितिको नेतृत्वमा आयोजना हुने उक्त प्रदर्शन छाताचौकबाट सुरु हुने आयोजकले जनाएको छ । संघर्ष समितिका संयोजक चन्द्र भुजेलका अनुसार सहभागीहरू दिउँसो १ बजे छाताचौकमा भेला भई ¥यालीसहित भानुचौक पुग्नेछन् । त्यहाँ कोणसभासमेत आयोजना गरिने कार्यक्रम रहेको छ ।
संघर्ष समितिमा उपसंयोजक राजेश राई, सचिव टिकाराम विक सहित १३ सदस्यीय समिति रहेको जानकारी दिइएको छ । कार्यक्रममा विभिन्न सुकुम्बासी संघ–संस्थाको पनि सहभागिता रहने बताइएको छ ।
समितिले राजनीतिक दलसँग आबद्ध भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूलाई समेत कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । साथै, सुकुम्बासीसँग सम्बन्धित संघ–संस्थासँग समन्वय गरी संयुक्त रूपमा आवाज उठाइने जनाएको छ ।
संघर्ष समितिले शान्तिपूर्ण प्रदर्शनमार्फत भूमिहीन तथा सुकुम्बासी समुदायका समस्या समाधान, व्यवस्थित बसोबास र अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य रहेको जनाएको छ ।




















