इनरुवामा ३३औं मदन–आश्रित स्मृति सभा सम्पन्न

समाचारदाता : गोपाल पौडेल

इनरुवा, २०८३ जेठ ४ गते।

धराने मिडिया : इनरुवा–३ सखुवागाछीमा ३३औं मदन–आश्रित स्मृति सभा तथा प्रतिमामा माल्यार्पण गरि स्व. मदन भण्डारी र जीवराम आश्रितलाई स्मरण गरिएकाे छ । कार्यक्रममा नेकपा (एमाले)सँग सम्बद्ध विभिन्न तह र तप्काका नेता–कार्यकर्ता, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता, कोशी प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र विजय राई, ईनरुवा नगरपालिकाका पूर्व मेयर तथा एमाले नेता खेमराज पोखरेल, नेकपा (एमाले)का पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, एमाले सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादव, कोशी प्रदेश कमिटीका सदस्यहरू, जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

स्मृति सभामा जिल्ला अध्यक्ष पर्शुराम यादव, युवा नेता लोकेश निरौला तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहेताले मदन भण्डारी र जीवराज आश्रितले नेपालको कम्युनिस्ट आन्दोलन निर्माणमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता निरौलाले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको अवधारणाले नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशा दिएको उल्लेख गरे। उनले कम्युनिस्ट विचार, नीति, कार्यक्रम र कार्यशैलीलाई आत्मसात गर्दै जनतामुखी ढंगले पार्टीलाई अघि बढाउन आजको दिनले प्रेरणा दिनुपर्ने बताए।

कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्मारक संरक्षक समाजका अध्यक्ष सरोज बरालले गरेका थिए। उनले ३३औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आगामी जेठ ९ गते शनिबार ईनरुवामा “नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपायहरू” विषयक कार्यशाला आयोजना गरिने जानकारी दिँदै सहभागिताका लागि सबैलाई निमन्त्रणा गरेका थिए।

यसैबीच, स्मृति सभामा सहभागी कार्यकर्ताहरूले नेकपा (एमाले) सुनसरी जिल्ला पार्टी कार्यालय परिसरमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरेका थिए।